नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव

           देश विकासमा अर्थतन्त्रको महत्त्वपूर्ण योगदान रहन्छ । सुदृढ अर्थतन्त्र भएका मुलुकहरूले आर्थिक, सामाजिक, शैक्षिक , सांस्कृतिक, धार्मिक , राजनैतिक, भाषिक र कलाकारिता आदि विविध क्षेत्रमा निकै फड्को मारिसकेका छन् । भौतिक सम्पन्नताले युक्त मुलुकहरुको दाँजोमा विपन्न मुलुकहरु भने विकासका हरेक गतिविधिमा पछाडि परेका  छन्। त्यस्ता मुलुकको वासिन्दाहरु गाँस, बास र कपास जस्ता साँझ  बिहानकै समस्यामा अलमलिएका छन्। झन  प्राकृतिक प्रकोप र मानव जीवनमा समय समयमा आइपर्ने महामारी रोग र दुर्घटना जस्ता कुराहरुले मानव समाज ग्रसित छ। आज केही महिनायता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड -१९) को महामारीबाट विश्व आक्रान्त छ । नेपाल लगायत विश्वका साना ठुला प्राय: सबै राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।  यो लेख तयार पार्दासम्म अढाई लाख मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौँ मानिसहरु सङ्क्रमित छन् । आज विश्व पुरै लकडाउनको स्थितिमा छ । मानिसहरुको दैनिकी ठप्प छ। लकडाउनको स्थितिले मानिसहरु आफ्ना दैनिक गतिविधिका लागि घर बाहिर निस्कन पाएका छैनन् । जसको फलस्वरूप शैक्षिक क्षेत्र लगायत व्यापार व्यवसाय, उद्योग धन्दा, कलकारखाना, सरकारी कामकाज र दैनिक काम गरी छाक टार्ने श्रमजीवीहरु पनि अत्यावश्यक र नगरी नहुने काममा समेत घरबाहिर निस्कन नपाउँदा देशको अर्थतन्त्र धराशायी बन्दै गइरहेको छ । नेपालमा पनि कोरोना भाइरसको जोखिम यथावत् नै छ। सरकार र आमनागरिकको पुरै ध्यान महामारीप्रति नै केन्द्रित  छ । यस बेला आर्थिक गतिविधि प्राय: शून्य छ, विकास निर्माण ठप्प छ। आयात निर्यात ठप्प छ , राजश्व सङ्कलनमा भारी गिरावट आएको छ ।जसको बाबजुद यस भाइरसले नेपाली अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको छ। यस लेखमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पारेका प्रभावहरु खोजी गर्ने प्रयास गरिएको छ ।

अर्थतन्त्रको परिचय र महत्त्व :
        अर्थ र तन्त्र  दुई शब्दको मेलबाट अर्थतन्त्र शब्दको निर्माण हुन्छ जस्को अर्थ - सरकारको अर्थसम्बन्धी कारोबार गर्ने प्रणाली भन्ने बुझ्नुपर्छ । अर्थतन्त्र देश विकासको आधार स्तम्भ  वा मेरुदण्ड हो । देशको समग्र विकासको आधारशिला पनि हो । कुनै पनि देश विकसित, अविकसित , अल्पविकसित र विकासोन्मुख के कस्तो छ भन्ने आधार देश देशका मानिसहरुको जीवनयापन गर्ने शैली के कस्तो छ? विकासका पूर्वाधारहरु कत्तिको खडा भएका छन् ? नागरिकहरुको वार्षिक प्रतिव्यक्ति आय कति छ? आम्दानीका स्रोतहरु के कस्ता छन् ? नागरिकको दैनिकी  कसरी अगाडि बढेको छ? साक्षरता प्रतिशत  उच्च वा न्यून के छ ? गरीबको रेखामुनि  नागरिकहरु कति छन् ? देशको आर्थिक  सूचांङ्क कस्तो छ ? उत्पादन र निर्माणमा देश आत्मनिर्भर हुन सकेको छ छैन ? देशमा आर्थिक , शैक्षिक , राजनैतिक , सांस्कृतिक र धार्मिक  क्षेत्रको विकास कुन गतिमा भएको छ जस्ता कुराहरुबाट निर्धारण गर्न सकिन्छ। देशको अर्थतन्त्र मजबुत भएमा सरकारले उक्त साधन स्रोतलाई राज्यका विभिन्न क्षेत्रमा समुचित वितरण गरी  मनग्य लाभ उठाउन सक्छ । बाटोघाटो, उद्योग, कलकारखाना, ऊर्जा, पर्यटन , वातावरण संरक्षण, शिक्षा , स्वास्थ्य , भाषा, खेलकुद र प्रविधि जस्ता क्षेत्रमा समेत समुचित रूपमा लगानीको प्रतिशत  बढाउन सकेमा नागरिकहरुलाई स्वदेशमा नै रोजगारीको स्थिति सृजना गर्न सकिन्छ। अविकसित तथा विकासोन्मुख राष्ट्रको मूलभूत समस्या नै  दैनिक जीवनयापनको हो। त्यस्ता देशहरुको विकासमा ध्यान दिने अवस्था न्यून हुन्छ। यसको मूल कारण पनि कमजोर अर्थतन्त्र नै हो भन्न सकिन्छ ।

नेपाली  अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव:
           सन्  २०१९ को अन्त्यतिर चीनबाट  मानिसमा सङ्क्रमण हुन थालेको कोरोना भाइरस ( कोभिड - १९)  इटाली , स्पेन, अमेरिका, बेलायत , रुस, फ्रान्स लगायत विश्वका २०० भन्दा बढी देशमा यो भाइरस फैलिएर विश्वव्यापी रुपमा  मानव जीवनलाई  सङ्कटमा पुर्‍याएको छ । १०२° भन्दा बढी ज्वरो आउने, रुघा लाग्ने, सुख्खा खोकी लाग्ने,   घाँटी अँठ्याएर श्वास फेर्न निकै कठिनाइ हुने र १४ दिनसम्ममा लक्षण देखिने कोरोना भाइरस  एक महामारी  रोग हो । एक सङ्क्रमित व्यक्तिसगँको सम्पर्क र उसले प्रयोग गरेका सामानहरु  छोएका हातले  नाक, मुख र आँखा कोट्याउँदा सङ्क्रमण फैलिने कुरा विशेषज्ञ तथा चिकित्सकहरुले गरेका छन् ।  यस रोगले हाल विश्वलाई त्रसित तुल्याएको छ। यस महामारीको प्रकोपबाट अढाई लाख मानिसले ज्यान गुमाइ सकेका छन भने लगभग ३५ लाख मानिसहरु उपचाररत छन् ।
     नेपालमा पनि भारत लगायत तेस्रो मुलुकहरुबाट आएका मानिसहरुमा कोरोना भाइरसको सङक्रमण  देखिएको र तिनीहरुले पनि अन्य नागरिकहरुलाई सङ्क्रमण फैलाउन  सक्ने आशङ्काले २०७६/१२/ ११ गतेदेखि नेपाल सरकारले देशलाई पुरै लकडाउन गरेको छ। यो लेख तयार पार्दासम्म नेपालमा ६९ जनालाई  कोरोना  भाइरसको सङ्क्रमण भएको र १६  जना उपचारपछि निको भइ घर फर्केको स्थिति छ। लकडाउनले गर्दा देशभित्र रहेका आम नेपाली नागरिकहरुको दिनचर्या निकै कष्टकर बन्दै गएको यथार्थता कसैबाट लुकेको छैन। दैनिक रूपमा मजदुरी गरेर साँझ बिहानको गुजारा गर्ने मानिसहरुको चुलो बल्न छाडिसकेको छ । मानिसहरुले कमाएर खाने वातावरण छैन । उद्योग  कलकारखाना ठप्प छ , व्यापार - व्यवसाय बन्द छ । यातायात  तथा हवाइ उडान बन्द छ । विकास निर्माणका कार्यहरु सबै बन्द छन् । राष्ट्रिय आम्दानीको धेरै हिस्सा ओगटेको कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको छ । राजस्व संकलन लगभग शून्य जस्तै छ। निकासी पैठारी  बन्द हुँदा सरकारले भन्सार कर संकलन गर्न सकेको छैन। राष्ट्रिय आम्दानीको ठूलो हिस्सा आन्तरिक तथा बाह्य पर्यटकहरुबाट हुने गर्छ । बाह्य पर्यटकहरु आउने  क्रम बन्द छ। नेपाल भ्रमण वर्ष २०२० स्थगित हुँदा  राष्ट्रको आम्दानी स्रोत शिथिल भएको छ । अर्थतन्त्रको ठूलो हिस्सा विदेशी रेमिट्यान्सबाट हुने गर्छ । नेपालीहरु श्रम रोजगारका लागि तथा अध्यनका लागि विदेश जाने क्रम बन्द छ । विदेशबाट आउने रेमिट्यान्स बन्द हुँदा गहन  असर  नेपाली अर्थतन्त्रमा परेको यथार्थता जगजाहेर नै छ।  नागरिकहरुले सरकारलाई बुझाउनु पर्ने विद्युत, खानेपानी ,टेलिकम र इन्टरनेट शुल्क र घरवहाल तथा भूमि कर  बुझाउन पाइरहेका छैनन।  यातायात, मालपोत, भन्सार र आन्तरिक राजस्व कार्यालयबाट  असुल हुने कर तथा शुल्कहरु सम्बन्धित निकायहरुबाट असुली हुन नसक्दा मौजुदा राष्ट्रिय  ढुकुटी  पनि रित्तिने अवस्थामा  पुगेको छ । अझ देशमा लकडाउनको स्थिति झन बड्दै गएमा देश आर्थिक  रुपमा जर्जर  भई आर्थिक मन्दी सिर्जना भएर विकासमा धेरै पछाडि पर्ने  स्थिति सिर्जना  हुने  देखिन्छ । उपर्युक्त तथ्यहरुलाई  दृष्टिगत गर्दा नेपाली  अर्थतन्त्रमा प्रभाव पार्ने कारक तत्त्व भनेको वर्तमान अवस्थामा  विश्वव्यापी  रूपमा  फैलिदै गएको  कोरोना भाइरस ( कोभिड - १९ ) नै हो भन्न सकिन्छ ।

निस्कर्ष:
          वर्तमान अवस्थामा महामारीका रूपमा विश्वव्यापी हुँदै फैलिएको कोरोना भाइरस (कोभिड -१९)ले नेपाली जनमानसमा पारेको नकारात्मक र त्रासदीपूर्ण प्रभावलाई न्यूनीकरण गर्न आम नागरिकलाई सामाजिक दूरी कायम गरी आआफ्नो दैनिक काम गर्ने वातावरण सिर्जना गर्ने अवस्था राज्यले दिन लकडाउनलाई केही खुकुलो  पारी आशङ्कामा रहेका मानिसलाई  परीक्षणमा तिव्रता दिँदै अगाडि  बढ्न उपयुक्त्त हुन्छ। मानिसले काम गरेर खान पाएमा राज्यको ठूलो धनराशी राहत  वितरणमा खर्चिन पर्दैन । राजस्व सङ्कलन हुने मार्गहरु अवरुद्ध भएकाले त्यसलाई सहज गर्दै अगाडि बढ्न सकेमा अर्थतन्त्र केही सुदृढ हुन सक्छ। नागरिकहरुलाई सचेतना बढाउँदै यसको सङ्क्रमणलाई बढ्न नदिन केन्द्र, प्रदेश सरकार  र स्थानीय तहका साथै आम नेपाली नागरिकहरु आआफ्नो क्षेत्रबाट  लागि पर्दै अगाडि बढ्नु आजको टड्कारो आवश्यकता  हो ।







लेखक:

दीपा सापकोटा
एम एस्सी दोस्रो सेमेस्टर

Previous
Next Post »